काठमाडौं । हिउँको पृथ्वी यात्रा नाटक आइतबारदेखी काठमाडौंमा प्रदर्शन हुने भएको छ ।
घिमिरे युवराज र अमजद प्रवेजले लेखन निर्देशन गरेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ खासगरी नदी र पर्यावरणको वरपर केन्द्रित रहेको छ । नदीको जिवन यात्राले जलप्राणी , अरु जीवहरु जमिनदखि मानिसम्मलाई कसरी छुन्छ भन्ने कुरा नाटकमा दर्शाउन खोजिएको लेखक निर्देशक घिमिरे युवराजले बताए ।
“प्रक्रितिले सबैलाई समान रुपले हेरेको हुन्छ । मनुष्यद्धारा परिचालित प्रक्रितिको दोहनले विभिन्न आकार प्रकारका असमानताहरु खडा गरेका छन् । दुरुपयोगबाट ग्रस्त हामीले अनेकौं विपदहरु निम्त्याएका छौं जसको मार सबै जीव जन्तु र बोटबिरुवाहरुले झलिरहेका छन् । दोषी को हो ? समाधान के हो ? यो नाटक यस्तै अनेकौं प्रश्नहरुको उत्तर खोज्ने प्रयासहरुको उपज हो” लेखक निर्देशक शेख अमजद प्रवेजले भने ।
नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र विसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, शुशीला लोहार, ज्याक बरालले अभिनय गरेका छन् । अनुप तिमल्सिना र स्मारिका फुयाँलको प्रत्यक्ष स्वर संगीत रहको छ ।
शनिबार नै प्रिमियर गरिएको नाटक आइतबारदेखी बत्तिसपुतली स्थित शिल्पी थिएटरमा दैनिक मञ्चन हुन लागेको हो । १५ दिन सम्म दैनिक साँझ ५ः३० देखि सुरु हुने नाटक करिब सवा घण्टाको रहेको व्यवस्थापक कुमार सिम्खडाले बताए ।