काठमाडौं । बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ ।
भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले बजारमा भटमासको तेल कार्टुनमा ७ सय रुपैयाँसम्म घटेको उद्योगीको भनाइ छ ।
त्यस्तै सूर्यमुखी तेल अहिले प्रतिकार्टुन २ हजार ६ सय रुपैयाँमा झरेको छ । यसअघि प्रतिलिटर ३ सय २० रुपैयाँ पर्ने तेल अहिले २ सय ५० देखि ६० रुपैयाँमा पाइने उद्योगीको भनाइ छ ।
तोरीको तेल पनि केही सस्तो भएको छ । तर उद्योगीले भाउ सस्तो भएको भने पनि उपभोक्ताले घटेको मूल्यमा तेल किन्न नपाएको गुनासो गरेका छन् ।
उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारसम्म आइनपुगेकाले घटेकै मूल्यमा उपभोक्ताले तेल किन्न नपाएको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । उद्योगीले भाउ घटाएको भने पनि नयाँ मूल्यसहितको तेल अहिलेसम्म बजारमा छ्यापछ्याप्ती नआएको सङ्घका महासचिव आमुलकाजी तुलाधरले बताए ।
नयाँ मूल्य निर्धारण गरी बजारसम्म आइपुगेको तेललाई व्यापारीले घटेकै मूल्यमा सुरु गरेका उनको दाबी छ ।सबैतिरका बजारमा समान रुपले घटेकै मूल्यमा बिक्री गर्न अझै एक हप्तासम्म लाग्ने महासचिव तुलाधरले जानकारी दिए ।
नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले मूल्य घटाएका हुन् । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घटेकाले पनि अहिले बजारमा तेलको मूल्य केही घटेर आएको हो ।
अझै तेलको मूल्य केही घट्न सक्ने देखिएको सङ्घले जनाएको छ । सरकारले यसअघि नै खानेतेलको मूल्य घटाउन उद्योगीलाई निर्देशन दिएको थियो ।