विगतका वर्षमा साउन महिना शुरु भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहल पहल देखिदैन । काठमाडौंको मुख्य र पुरानो व्यपारिक स्थानका रुपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन । बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पु¥याएको छ ।
खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुर्नु मात्र भएको व्यापारी सविर अहमद बताउनुहुन्छ । उहाँ प्रश्न गर्नु हुन्छ , ‘व्यापार नै छैन कसरी परिवार चलाउने ?’ मल्ल कालदेखिको पुख्र्यौली पेशा धान्दै आउनुभएका उहाँ इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको जिकिर गर्नु हुन्छ ।
पोतेको व्यापार गर्दै आउनुभएका उहाँ विगतका वर्षमा मानिसको अत्याधिक भिडभाड हुने गरेको स्मरण गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ , ‘अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन ।’ विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताउनुभयो ।
उहाँ जस्तै यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ । विगतका वर्षमा दैनिक झण्डै रु ५० हजारको व्यापार हुने गरेकामा अहिले रु एक हजारको पनि व्यापार नहुने गरेको बताउनु हुन्छ । ‘व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ’, उहाँले भन्नुभयो ।
सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको चौधरीको ठम्याइ छ । बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको चौधरीले बताउनुभयो । जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको उहाँको दुखेसो छ ।
व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिनुभयो । उहाँ भन्नु हुन्छ , ‘दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ ।’ यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उहाँको बुझाइ छ । सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको आरोप लगाउनु हुन्छ उहाँ । ‘जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ ?’, मल्लको प्रश्न छ ।