काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा बैठक बहिस्कार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदन सञ्चालन गर्न सहमत भएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएपछि सदन सञ्चालन हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट संशोधनको माग राख्दै प्रदेश सभा बैठक बहिस्कार गर्दै आएको एमालेले अवरोध नगर्ने भएपछि अब प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा छलफल हुने भएको छ।
बुधबार (आज) मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश सरकारका मन्त्रीसँग भएको छलफलपछि एमालेसहित प्रतिपक्षी दलहरु प्रदेश सभाको बैठक सञ्चालनका लागि सहमत भएका हुन्। बजेटमाथि संशोधन गर्नुपर्ने भन्दै एमालेले अगाडि सारेको १४ बुँदे माग कार्यान्वयन गर्न प्रदेश सरकार तयार भएको छ।
सुशासन ऐन २०७५ को व्यवस्था बाहेकका योजनाहरु कटौती गरिनुपर्ने, बजेटमा प्रस्तावित गरेका १० लाखभन्दा माथिका योजनाहरुको टेन्डर प्रक्रियाबाट काम गर्ने, १० लाखभन्दा कमका योजनालाई स्थानीय तहमा हस्तान्तरण गरिनुपर्ने लगायत १४ बुँदे माग राख्दै एमालेले बजेटमा संशोधन हुनुपर्ने माग अगाडि सारेको थियो।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेदेखि नै एमालेले बजेटमा संशोधन गरिनुपर्ने माग राख्दै आएको थियो। एमालेले कहिले प्रदेश सभामा विरोध त कहिले सदन नै बहिस्कार गरेर आफ्नो विरोध प्रकट गर्दै आइरहेको थियो।
एमालेको अवरोध र बहिस्कारका कारण असार १ गते यता प्रदेश सभा बैठक १० पटक स्थगित भइसकेको छ ।यसअघि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद्हरुले बजेट संशोधनका लागि मुख्यमन्त्रीसहित आर्थिक मामिलामन्त्रीको प्रतिवद्धता मागेका थिए।