काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग ९एनएसएल० लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।
एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराइसकेको छ । तर ए डिभिजनका असन्तुष्ट चार क्लबले एन्फासँग छलफल गर्दै एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
यी विषयको बारेमा कार्यसमितिमा छलफल हुनेछ । ‘साउन २ गते कार्यसमिति बैठक डाकिएको छ ।
जसमा साफ महिला च्याम्पियनसिप, एनएसएल, केही पदाधिकारी नियुक्ति लगायत विषयमा छलफल हुनेछ’, महासचिव राईले भने । साफ महिला च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने तय भएपनि काठमाडौं वा बाहिर कहाँ गर्ने निर्णय भएको छैन ।
त्यसको टुङ्गो कार्यसमिति बैठकले लगाउनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिम एसियन गेम्सको लागि प्रशिक्षणमा छन् ।
त्यसैलाई अब साफ च्याम्पियनसिपको तयारीको रुपमा अघि बढाउने सम्भावना छ । यस्तै केही दिनअघि ए डिभिजनका चार क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटाले एन्फा पदाधिकारीलाई भेटेर एनएसएलसँगको सम्झौता रद्द गर्न सिफारिस गर्ने विषयमा छलफल गरेका थिए ।
त्यसलाई कार्यसमितको बैठकमा सिफारिस गरिनेछ र छलफल गरिनेछ । ६ असारमा सम्पन्न निर्वाचनबाट पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फाले एनएसको विषयमा क्ललहरुसँग छलफल गरेर अघि बढ्ने जनाएको थियो ।
कार्यसमिति बैठकमा केही पदाधिकारी मनोनित गर्ने र उमेर समूहको प्रतियोगिताको बारेमा पनि छलफल हुनेछ ।