देशभर ३४ ठाउँका राष्ट्रिय राजमार्ग अझै अबरुद्ध रहेका छन् । सडक विभागले हिजो साँझसम्म अद्यावधिक गरेको तथ्यांकअनुसार ७७ ठाउँमा सडक सुचारु भइसकेको छ । मनसुन अधिक सक्रिय हुँदा देशभर एक सय ११ ठाउँमा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका थिए ।
पछिल्लो समय कालीगण्डकी करिडोर सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यस करिडोरको बेनी– जोमसोम– कोरोला सडकका विभिन्न ठाँउमा पुल बगाएको छ भने पहिरोको कारण सडक अबरुद्ध भएको छ । यस सडकको नच्र्याङ, तातोपानी क्षेत्रमा सडक माथिबाट पहिरो आएको छ । त्यस क्षेत्रमा सडक सुचारु गर्न अझै पाँच दिन लाग्नेछ ।
त्यस्तै, रुप्से क्षेत्रमा स्ल्याब कल्भर्ट बगाएको छ भने निर्माणाधीन पुलको जग पुरिएको छ । खहरे खोला क्षेत्रमा भने डाइभर्सन तथा निर्माणाधीन पुल बगाएको छ । काइकु खोला घासामा भने स्ल्याब कल्भर्ट बगाएको, दुवैतफृको एप्रोच सडक बगाएको छ । लेते खोलामा पहिरो गएर अबरुद्ध भएको छ । यी सबै खण्ड सञ्चालनमा आउन एक हप्ता लाग्ने सडक विभागको अनुमान छ ।
कान्ति लोकपथ सडकको घट्टे, बाध धारा, शिलालेख, रातोभिर, छपेली, भालुखोला र बिर्खेधारामा पहिरो गएको कारण सडक अबरुद्ध छ । वर्षाको कारण पहिरो सफा गरी सुचारु गरिएको भए पनि पुन अबरोध भएको छ । यो सडक पानी पर्न बन्द भएपछि मात्र सञ्चालनमा आउने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभएको छ ।
पछिल्लो समय चीनसँगको व्यापारिक नाकाको रुपमा प्रयोगमा आएको गल्छी– त्रिशुली– मैलुङ – स्याफ्रुबेसी– रसुवागडी सडक पनि २ साताभन्दा बढी अबरुद्ध हुने भएको छ । यस सडकको मैलुङ स्याफ्रु खण्डमा पहिरो गएको छ भने डेब्रिस थुप्रिएको छ । त्यस्तै, स्याफ्रु रसुवागढी खण्डमा पनि पहिरोको कारण आवातजावत अवरुद्ध छ । यस खण्डलाई न्यूनतम ४ दिनमा सञ्चालनमा ल्याउन तयारी छ ।
यसबाहेक अरनिको राजमार्ग धेरै ठाँउमा अबरुद्ध हुने सडकमा पर्छ । यस राजमार्गको विभिन्न खण्डमा गरी १३ ठाउँमा सडक अबरुद्ध भएकोमा अधिकांश ठाँउमा अझै मर्मत गर्न सकिएको छैन । डाकलांगस्थित १०० मिटर सडक भासिएको र पहिरो गएको छ ।भोटेकोशी खोलाले खग्दोलस्थित दुईवटा पूल बगाएको छ । यो राजमार्ग सञ्चालन आउन अझै १० दिन लाग्ने सडक विभागको अनुमान छ । धेरै ठाँउमा सडक अवरुद्ध भएकाले यस राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन कठिन रहेको महानिर्देशक शर्माको भनाइ छ ।
पृथ्वी राजमार्गको चितवन र धादिङको सिमानामा रहेको मावा खोला पुलको एप्रोच (पहुँच) सडक निर्माणको काम थालिएको छ । पहुँच सडक बगाएपछि पृथ्वी राजमार्ग अबरुद्ध छ । आजसम्ममा यो सडक खुल्ने सम्भावना रहेको महानिर्देशक केशवकुमार शर्माले बताउनुभएको छ । पछिल्लो समय नारायणगढ मुग्लिङ सडक भने सञ्चालनमा रहेको छ ।
त्यस्तै, साँफेबगर मार्तडी सडकको बल्दे खण्डमा पहिरो गएको छ भने ताप्रीसेरा घट्टेखोलाको पुल पूर्ण रुपले बगाएको छ । त्यस्तै, अम्कोट द्धावारी खण्डमा बुढीगंगा नदीले सडकको सतह कटानगरी ५ सय मिटर सडक क्षतिग्रस्त बनाएको छ । सडक खुलाउनको लागि प्रयास भइरहेको छ । तर, तत्कालै सुचारु हुने सम्भावना न्यून रहेको सडक विभागको भनाइ छ ।