काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।
प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार (आज) बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए ।
बैठकले गरेको बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने उनले बताए ।
उनका अनुसार संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए ।
सामाजिक विकास मन्त्री बोहरा आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुगेका थिए ।
उनी काठमाडौंबाट फर्किएपछि बसेको संसदीय दलको बैठकबाट गरिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन ।