काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाएका छन् ।
किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने उनको माग छ । सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद गोपीबहादुर सार्की अछामीले मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गरे ।
निजामती ऐन ल्याउन ढिला भएका कारण स्थानीय तहमा अनावश्यक कर्मचारी भर्ना गर्ने काम गरिएको भन्दै जतिसक्दो चाँडो ऐन ल्याउनुपर्ने माग गरे ।
सांसद उदयबहादुर बोहराले संघीयतालाई सबल बनाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताए ।
सांसद प्रकाश पन्तले सामुदायिक क्याम्पसको सुधारका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै रोजगारमूलक शिक्षाको आवश्यकता औँल्याए ।
सांसद खिमलाल देवकोटाले कास्कीस्थित फेवातालको अतिक्रमण रोक्नुपर्नेमा जोड दिए । सांसद भुवनबहादुर सुनारले भूमिहीन सुकुम्बासीलाई जमिनको व्यवस्था गर्नुपर्ने माग गरे ।