काठमाडौं । चालू आर्थिक वर्ष २०७८र७९ को ११ महिनाको अवधिमा सरकारले पेट्रोलियम पदार्थबाट १ खर्ब ५ अर्बभन्दा बढी कर उठाएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपीजी ग्यास र हवाई इन्धनबाट उक्त कर उठाएको हो ।
यस अवधिमा नेपालमा विदेशबाट १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँको डिजेल आयात भएको छ । ११ महिनाको अवधिमा १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल आयात भएको हो ।
यसबाट राज्य कोषमा ५७ अर्ब ९० करोड रुपैयाँ कर गएको छ । सरकारले डिजेलको आयातमा प्रतिलिटर ४९।५३ रुपैयाँ असुल्दै आएको छ ।
यसै गरी, यस अवधिमा ६२ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६ लाख ७८ हजार ६७२ किलोलिटर पेट्रोल भित्रिएको छ । ११ महिनाको अवधिमा नेपालमा उक्त मूल्य र परिमाण बराबरको पेट्रोल आयात भएको हो ।
यसबाट राज्य कोषमा ३५ अर्ब ५२ करोड रुपैयाँ कर संकलन भएको छ । यसका साथै, १४ अर्ब ३४ करोड रुपैयाँको मट्टितेल भित्रिँदा १८ करोड ६० लाख रुपैयाँ कर उठेको छ ।
यस्तै, १२ अर्ब ८८ करोड रुपैयाँको हवाई इन्धन आयात हुँदा ७२ करोड २५ लाख रुपैयाँ कर सङ्कलन भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । यसै गरी, खाना पकाउने एलपीजी ग्यासबाट ११ अर्ब ३ करोड रुपैयाँ कर राज्य कोषमा गएको छ ।
११ महिनामा ५९ अर्ब १६ करोडको एलपीजी ग्यास आयात हुँदा उक्त कर संकलन भएको हो ।