काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारूढ दलहरूका बीचमा छलफल भएको छ ।
सत्तारूढ दलका संसदीय दलका नेताहरू, मुख्यमन्त्री पाण्डेका बीचमा आज बिहीवार हेटौँडामा छलफल भएको हो ।
छलफलमा मुख्यमन्त्री पाण्डेले केन्द्रका नेताहरूको निर्देशनका आधारमा मात्र मुख्यमन्त्री छोड्ने बताएपछि सत्तारूढ दलका सांसदहरूले मुख्यमन्त्री परिवर्तन गर्नका लागि हस्ताक्षर सङ्कलन गरेका हुन् ।
प्रदेश सभा आजदेखि अनिश्चितकालका लागि स्थगित भएकाले आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका हुन् ।
दलहरूका बीचमा सरकार परिवर्तन नभइ मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भएको माओवादी केन्द्रका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य युवराज दुलालले बताए ।
सत्तारूढ दलहरूका बीचमा आपसी छलफलबाट नै मुख्यमन्त्री परिवर्तन हुने उनले बताए ।
प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरिएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशनवनिा सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरेको हो ।
सत्तारूढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो ।