काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सुसन बैद्यले पार्टीमा पहिलो पुस्ताको नेतृत्वले सम्मानजनक विश्राम लिनु जरुरी भएको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता बैद्यले पार्टी निर्माण गर्न पहिलो पुस्ताले विशेष योगदान दिएको बताउँदै पहिलो पुस्ताको योगदानको विशेष कदर गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । उनले नयाँ पुस्ताले नेतृत्व गरेर मात्र समाजको परिवर्तन हुने बताए ।
यदि युवा राजनीतिमा नआउने हो भने मुलुकमा खोजिएको परिवर्तन आउने कम सम्भावना भएको बताउँदै उनले भने, ‘जुनसुकै पार्टीमा होस्, सबैभन्दा राम्रो पार्टी नेपाली कांग्रेसमा जोडिएर राजनीतिमा आउनुस्, हैन भने अरु जुनसुकै पार्टीमा जोडिनुस्, तर समाजमा परिवर्तनका लागि राजनीतिमा जोडिनुस् भन्छु म ।’
नेतृत्वले नयाँ पुस्तालाई अगाडि बढ्न जतिसुकै रोकेपनि परिवर्तनको चाहना राखेको समाजले त्यसलाई रोक्न नसक्ने नेता बैद्यले बताए । उनले पार्टी भन्दा ठूलो जनता भएकाले पार्टीमा लगाएको सिन्डिकेट जनतामा लगाउन नसकिने धारणा राखे । उनले भने, ‘कुनैपनि पार्टी एउटा सानो समुदाय हो त्यो भन्दा ठूलो समुदाय भनेको जनता नै हो । हामीले जतिसुकै रोकेर सिन्डिकेट लगाएपनि त्यो पार्टीभित्र मात्र सम्भव छ, त्यो भन्दा बाहिरको चाहना सिण्डिकेटले रोक्न सक्दैन । त्यसैले यो परिवर्तनको नियम नेतृत्वमा भएका व्यक्तिले जति चाँडो बुझ्छ त्यति राम्रो हुन्छ ।’
नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनले ठूलो परिवर्तन ल्याएको बताउँदै नेता बैद्यले पार्टीमा युवा पुस्ताका दुईजना महामन्त्री चयन हुनु भनेको ठूलो उपलब्धी भएको बताए । उनले पछिल्लो समयमा नेपाली कांग्रेस मात्र नभइ राजतन्त्रलाई आफ्नो मूल प्रस्थानविन्दू मान्ने पार्टीमा समेत ठूलो परिवर्तन आएको बताए ।
अहिले नेपाली कांग्रेसको नेतृत्व गर्न तीन पुस्ता तयार भइसकेको बताउँदै अहिलेपनि पहिलो पुस्ताले नेतृत्व हस्तान्तरण नगरे सकारात्मक बाटो पहिल्याउन नसक्ने बताए । उनले नेपाली कांग्रेसमा दोश्रो पुस्ता नेतृत्व लिन तयार नभएपनि तेश्रो पुस्ता नेतृत्वका लागि सक्षम भइसकेको बताए ।
पछिल्लो समयमा काठमाडौं महानगरपालिकामा युवा पुस्ता नेतृत्वमा आउनु स्वभाविक भएको बताउँदै यदि पार्टीले यस्ता बिषयलाई नजरअन्दाज गरेमा यसको प्रभाव भविष्यमा हुने निर्वाचनमा समेत पर्ने बैद्यले बताए ।