काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् । बुधवार आज अखिल नेपाल किसान राष्ट्रिय महासङ्घले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले नेपाल धानबालीका लागि उपयुक्त ठाउँ रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताए । उनले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन आवश्यक रहेको बताए।
उनले भने, ‘धानबाली नेपालका लागि अत्यन्त उपयुक्त छ । यसलाई अझै केही गुणा वृद्धि गर्न सक्नुपर्छ । यसका निम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ । यसका निम्ति सहकारी र अरू माध्यमबाट खण्डीकरण होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनै पनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ । त्यसो गरे हामी आत्मनिर्भर पनि हुन्छौँ, निर्यात पनि गर्न सकिन्छ । अहिले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने भन्ने कुरामा ध्यान पुगेको छैन । प्लटिङ सिस्टमले धान खेती वा अन्नबाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउने, कहाँ सहर बनाउने भन्ने कुरामा गोलमाल भइरहेको छ । हामी बेठिक ढङ्गले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।’
अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्न बढी मात्रामा आयात गर्नु अशोभनीय भएको पनि बताए । उनले धान, मकै, गहुँजस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखद भएको बताए ।
उनले लापर्बाही र असावधानीका कारण यी गल्तीहरू भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।