काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका हुन् । माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा यथावत राखिएको छ ।
देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । रक्षामन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवा आफैले सम्हाल्दै आएका छन् ।
आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरुको शपथ ग्रहण आज हुँदै छ प्रधानमन्त्री देउवाले आइतबार साँझ कांग्रेस माओवादीका मन्त्रीलाई यथावत राख्दै समाजवादीले सिफारिस गरेकालाई नयाँ मन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ आज बिहान ११ बजे गराउने तयारी भइरहेको छ ।
गत २२ जेठमा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पालो दिने निर्णय गरेको थियो ।
पार्टीको उक्त निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वयन नगर्न आनाकानी गरेको भन्दै एकीकृत समाजवादीले पटक पटक मन्त्रिपरिषद हेरफेर गर्न आग्रह गर्दैै आएको थियो भने फिर्ता हुन नमानेका मन्त्रीहरुलाई पनि पार्टीको निर्णय मान्न चेतावनी दिँदै आएको थियो ।
लामै रस्साकसीपछि आइतबार भने प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद हेरफेर गरेका हुन् ।