काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले स्थानीय तहको निर्वाचन परिणामले नेपाली मतदाताहरु हरेक ५ बर्षमा नयाँ अनुहार खोज्दैछन् भन्ने संकेत गरेको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता भट्टराईले निर्वाचनका बेला उम्मेदवारले गरेका प्रतिबद्धताहरु पूरा भयो कि भएन भनेर समेत अहिले उपत्यकाका मतदाताहरुले हेरेको बताए । यदि नेतृत्व सच्चिएन भने जनताले कुनैपनि बेला ठेगान लगाइदिन सक्ने समेत उनले बताए ।
भट्टराईले भने, ‘नेतृत्वमा रहेकाले म जहिलेपनि जनताभन्दा ठूलो होइन भन्ने सोच राख्नुपर्छ, म जनताको सेवक हुँ मालिक होइन भन्ने सवक पनि पछिल्लो मत परिणामले दिएको छ । यदि आगामी नेतृत्वले यी कुरालाई ध्यान दिन सकेन भने मतदाताले कुनैपनि बेला ठेगान लगाइदिन सक्छन् भन्ने सन्देश पनि दिएको छ ।’
भट्टराईले बामपन्थी जनताहरु अहिले बाम एकिकरण भन्दा पनि बाम ध्रुवीकरणको पक्षमा रहेको बताए । नेपालका बामपन्थीहरु माक्र्सवाद र लेलिनवादको स्कूलिङभन्दा बाहिर गएर काम गर्न नसक्ने भएकाले नेपालका वामपन्थीहरुको ध्रुवीकरण एमालेतिर हुने उनले बताए । अहिलेको अवस्थामा डा.बाबुराम भट्टराई लगायतका नेताहरु बाम ध्रुवीकरणको पक्षमा रहेकोे बताउँदै उनले आगामी दिनमा बाम ध्रुवीकरण हुँदा डा.बाबुराम भट्टराई एमाले र केपी ओलीपट्टि नै ध्रुवीकृत हुने बताए ।
भट्टराईलआगामी निर्वाचनमा अन्य दलहरुबीच गठबन्धन भएपनि नेकपा एमाले पहिलो पार्टी बन्ने समेत बताए ।
उनले विगतमा लामो समयसम्म पार्टी चलायमान हुन नसक्दा केही कमजोर जस्तो देखिएतापनि विगत केही समययता पार्टीका हरेक गतिविधिहरु चलायनमान भएका कारण आगामी दिन एमालेका लागि सुन्दर रहने बताए । उनले विपक्षीहरुले जतिसुकै जितको हौवा फिजाएपनि गठबन्धन एकअर्काको वैशाखी टेकेर मात्र अहिलेको अवस्था आएको बताए ।
भट्टराईले भने, ‘विपक्षीले अहिले हामीले धेरै जित्यौ भनेर हौवा फिजाएपनि वास्तविक धरातलमा त्यो कुरा छैन, एकले अर्काको बैशाखीमा त्यो कुरा उहाँहरुले प्राप्त गर्नुभएको छ, कुनैपनि बैशाखी अलिकति धरमराउने वित्तिकै उहाँहरु फेरि पुरानै पोजिशनमा पुगिहाल्नुहुन्छ भन्ने कुरा चाहिँ छिपाएर छिप्ने कुरा छैन ।’
अहिलेको गठबन्धनको कुनै सैद्धान्तिक आधार नभएको बताउँदै नेता भट्टराईले यस्तो विजातिय गठबन्धनको कुनै अर्थ नरहने बताए । उनले कुनै विचारसँग गठबन्धन नभइ सत्ता स्वार्थका लागि भएकाले जनताले सधैं उनीहरुलाई भोट नहाल्ने तर्क गरे ।
आगामी निर्वाचनमा राजनीतिक शक्ति सन्तुलनमा भिन्न हुन सक्ने बताउँदै नेता भट्टराईले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं र धरानमा प्राप्त मत परिणामले स्वभाविक रुपमा दलहरुलाई चकित पार्ने खालको भएपनि आम मतदाताहरु निर्णयलाई आधार मान्दा आगामी निर्वाचनमा यस्तो परिणाम आउनेमा आफू विश्वस्त नरहेको बताए । उनले भने, ‘यो कुराले पार्टीहरुले जनताको भावनाअनुसारको योजना, कार्यनीति, रणनीति कार्यान्वयन गर्नुपर्ने थियो, पार्टीहरु अलि पुरानै ढर्रामा गइरहेका छन् कि ? भन्ने कुराको संकेत चाहिँ गर्छ । पार्टीहरु नयाँ पुस्ताका मान्छेहरुलाई पनि सम्बोधन गर्ने किसिले आउनुपर्छ भन्ने संकेत गर्छ नै । त्यसमा सबै पार्टीहरु सजग हुनुपर्छ र हुनेछन् भन्ने मेरो मान्यता हो । तर त्यसैको आधारमा अहिले पछिल्ला दिनहरुमा गतिविधिहरु देखिन थालेको भन्ने चाहिँ मलाईं लाग्दैन ।’