काठमाडौं । शिक्षालाई सबैभन्दा बढी प्राथमिकता दिएर भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । २ अर्ब १८ करोडको रकम प्रस्तुत गरिएकोमा ४२ करोडभन्दा बढी रकम शिक्षामा मात्रै विनियोजन गरिएको छ ।
नगर उपप्रमुख रजनी जोशीले प्रस्तुत गरेको बजेटमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ । नगर प्रमुख सुनिल प्रजापतिले यो क्षेत्रलाई विशेष प्राथमिकता राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
’नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सर्वविदितै छ । शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३ प्रतिशत) विनियोजन गरिएको छ’, बजेटमा भनिएको छ ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी वर्षका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।
शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरूका लागि विशेष व्यवस्था गरिएको छ ।
भक्तपुरको वास्तुकला, चित्रकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पयर्टनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिपसँगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने उल्लेख बजेटमा गरिएको छ । विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिका लागि बजेटको व्यवस्था गरिएको उपप्रमुख जोशीले उल्लेख गरेकी छन् ।
बजेटको स्रोतका लागि बाह्य स्रोतबाट जम्मा १ अर्ब ६४ करोड ७७ लाख २६ हजार आम्दानी हुने र संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपरूक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा ६५ करोड ४४ लाख प्राप्त हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्ताबापत ५० करोड आम्दानी हुने अनुमान गरिएको छ ।
बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ८ करोड ९ लाख ३२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।