काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब गठबन्धन आवश्यकता छ कि छैन प्रष्ट पार्न माग गरेका छन् ।
उनले पोलिटब्युरो बैठक चल्दै गर्दा पत्रकारसँग कुरा गर्दै पार्टीले गरेको सिफारिस २२ दिनसम्म पनि निर्णय कार्यान्वयन नगर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्।
अब गठबन्धनमा एकीकृत समाजवादी चाहिँदैन भन्नपर्यो नत्र हाम्रो पार्टीको सिफारिस कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्ने दायित्व प्रधानमन्त्रीको हो, उहाँले गर्दिनँ भन्न सक्नुहुन्न।’
शुक्रबार (आज)को पोलिटब्युरो बैठकमा पनि यही कुरा उठेको र शनिबार हुने केन्द्रीय कमिटी बैठकमा पनि यही विषयमा छलफल हुने उनले बताए।
‘हरेक दिन बैठक बस्ने, कुरा उठ्ने, तर प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने हुँदै आएको छ’, उनले भने, ‘पार्टी अध्यक्ष माधव नेपालले निर्णय कार्यान्वयनका लागि दबाब दिइरहेको भन्नु भएको छ। तर, उहाँको कुरा पनि प्रधानमन्त्रीले कार्यान्वयन गर्नुभएको छैन।’
जे भए पनि गठबन्धनमा आबद्ध पार्टीले एउटा सिफारिस गरेको र त्यो कार्यान्वयन प्रधानमन्त्रीले गर्नुपर्ने उनको भनाइ छ। ‘पार्टीले त सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने प्रधानमन्त्री हो,’ उनले भने, ‘यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि हात देखियो।’
प्रधानमन्त्रीलाई दाहालले प्रभावमा पारेको उनले आरोप लगाए। मन्त्रिपरिषद् परिर्वतन गर्दा माओवादीभित्र समस्या होला भनेर ढिला गरिएको आफूहरुले बुझेको उनले बताए।
उनले पाँच दलभित्रको एक महत्वपूर्ण दल एकीकृत समाजवादी भएको भन्दै आफूहरूका कारणले नै प्रधानमन्त्री र माओवादीले धेरै मन्त्री पाए पनि अहिले आफूहरुको निर्णय कार्यान्वयनमा बेवास्ता गरेको चौधरीको भनाइ छ।
उनले आफ्नो पार्टीका तर्फबाट कुनै कमजोरी नभएको स्पष्ट पारे। उनले आफ्नै पार्टीका मन्त्रीलाई पनि प्रश्न गरेका छन्। विगतमा ६ महिनाका लागि भनेर गएकाहरु अहिले फिर्ता हुन गाह्रो किन मानेको भन्दै चौधरीले प्रश्न गरे।