काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन ।
नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि प्रधानमन्त्री देउवाले बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् ।
उनका अनुसार नेकपा एसको बिहीबार आज बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने पार्टी निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमाथि निरन्तर दबाब दिइरहेका छन् ।
दुई साताअघि नेकपा एसले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री बिरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय लिएको थियो ।
सो निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष नेपालले पटक पटक प्रधानमन्त्रीलाई दबाब दिए पनि प्रधानमन्त्रीले ‘बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने’ भन्दै नेकपा एसको निर्णय कार्यान्वय गरिदिएका छैनन् । देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेकपा एसमा भने किचलो सुरु भएको छ ।
बहालवाला मन्त्रीहरुले पार्टीको सो निर्णय वारेमा सुरुमा नै आफू अनविज्ञ भएको बताउँदै असन्तुष्टि जाहेर गर्दै संघीय संसदको निर्वाचनसम्म निरन्तरता पाउनु पर्ने बताउँदै आएका छन भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवासँगको भेटमा दबाब बढाउँदै आएका छन् ।