काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन् ।
उनीहरूले राजधानी काठमाडौंमै हैजाका बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहोर व्यवस्थापन गर्नसमेत माग गरेका छन ।
शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए ।
सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताए । उनले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
सङ्घीय निजामति विधेयक फिर्ता गर्नु सङ्घीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न पनि उनले आग्रह गरे ।
सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे गरिन्।
नागरिकता नहुँदा बैंकमा खाता खोल्नदेखि विदेशमा पढ्नसमेत जान नपाएको उनले गुनासो गरिन् । सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गरे।
सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताइन् । सांसद सरिता न्यौपानेले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा जोड दिइन् ।
सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गरिन् ।