भक्तपुर । आधुनिक युग सूचना प्रविधिको युग भएकाले बालबालिकालाई यसको दुरुपयोगबाट बचाउनुपर्ने बालमनोविज्ञ एवं शिक्षासेवी भवानी शर्माले बताएकी छिन् ।
भक्तपुर सूर्यविनायक ३ बालकोट स्थित ‘फस्ट स्टेप्स मन्टेश्वरी’को प्रथम दिक्षान्त समारोहमा प्रमुख अतिथिकी रुपमा बोल्दै शर्माले बालबालिकाको शैक्षिक विकासमा शिक्षकसँगै अभिभावकहरु समेत जिम्मेवार हुने बताइन् । उनले भनिन् ‘बालबालिकाको मनोविज्ञान बुझ्न नसक्दा कतिपय अभिभावकहरुले आफ्ना छोराछोरीलाई अहिलेको समयमा आवश्यकता भन्दा बढी मोबाइल र ल्यापटप प्रयोग गर्न दिइरहेका छन् । जुन उनीहरुका निम्ति अत्यन्तै घातक बनिरहेको छ ।’ शर्माले प्रारम्भिक अवस्थाका बालबालिकाको विकासका निम्ति अभिभावहरुले ध्यान दिन सकेननन् भने भोलि पछुताउनुपर्ने अवस्था सिर्जना हुने बताइन् ।
सोही कार्यक्रममा स्थानीय समाजसेवी राजकुमार सिलवालले बालबालिकाको सर्वाङ्गिण विकासमा अहिले नै ध्यान दिनुपर्ने बताए । सिलवालले आजका बालबालिका भोलिका राष्ट्र निर्माणमा आधार भएकाले पनि उनीहरुको सर्वाेत्तम हितमा राज्यका सबै निकायले उत्तिकै ध्यान दिनुपर्ने बताए ।
मन्टेश्वरीका संस्थापक सुरज राजथलाले बालबालिकाको आधारभूत विकासका निम्ति शिक्षा अपरिहार्य भएकाले उनीहरुको प्रारम्भिक बालविकासकै निम्ति ‘फस्ट स्टेप्स मन्टेश्वरी’ सञ्चालनमा ल्याइएको बताए । उनले नेपालको परिवेश र युग सुहाउँदो विधिलाई अबलम्बन गरी ‘फस्ट स्टेप्स मन्टेश्वरी’ ले बालबालिकालाई सिकाइरहेको बताए ।
यस्तै ‘फस्ट स्टेप्स मन्टेश्वरी’ की शिक्षिका तिला दाहालले २०७३ सालदेखि स्थानीय तहमा बालबालिकाको आधारभूत शैक्षिक विकासमा योगदान गर्न व्यवहारिक शिक्षा प्रदान गरेको बताइन् । दाहालले बालबालिकाको शैक्षिक विकासमा अभिभावक तथा शिक्षक दुवैको उत्तिकै भूमिका हुने बताइन् ।
दिक्षान्त समारोहमा उक्त मन्टेश्वरीमा अध्ययन पूरा गरेका शुभम भण्डारी, अमन गुरुङ, सन्देश थापामगर, रोशिका थापा, विकिशा गौतम, ईश्वी धिताल, मिचुङ राई, एल्भिन देवकोटा तथा गौराङ्गी शाहलाई दिक्षित गरिएको थियो ।
उक्त कार्यक्रममा बालबालिकाले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।