काठमाडौं । नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै पीडितले आन्दोलन सुरु गरेका हुन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका छन् ।
जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको मिटर ब्याज पीडित राजकुमारले बताए ।
उनले भएको जग्गा–जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौैं आएको बताए ।
त्यस्तै अर्का मिटर ब्याज पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउनका लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग एक लाख रुपैयाँ ऋण लिएको बताए ।
बानियाँले एक लाख दिएर दुई लाख रुपैयाँको तमसुक बनाएको बताए । बानियाँलाई पाँच लाख पाँच हजार रुपैयाँ दिइसके पनि अहिले आठ लाख रुपैयाँ माग गरेको गुनासो गरे ।
जग्गा बचेर भए पनि पैसा दिन दबाब दिएको तर आफूसँग चार कठ्ठा १५ धुर मात्रै जग्गा रहेको कुर्मीले बताए । अर्का पीडित रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दा समेत नदिएको बताए ।
उनले ऋण चुक्ता भएको कागज गरेर पनि आफूहरूको लेखाइ नभएको भन्दै बाँकी पैसा माग्ने गरेको बताए । मिटर ब्याजीलाई कारबाही गरेर मात्रै घर जानका लागि आफूहरू काठमाण्डौ आएको उनको भनाइ छ ।
आन्दोलनमा आएकाहरूले हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गासमेत कब्जा गरेर भूमिहीन भएको बताएका छन् ।
उनीहरूले मिटर ब्याज लिन पाइँदैन–जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबदार, मिटर ब्याज लिनेलाई कारबाही गर्, मिटर ब्याज लिएर जनतालाई सुकुम्वासी र भूमिहीन बनाउन पाइँदैन जस्ता नारा लेखेका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।