भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले नगरपालिकाको नीति निर्माण तथा पूर्वाधार विकासका जनसरोकारका बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिहरु शासक नभइ सेवक भएर कार्य गर्न अनुरोध गरेको छ ।
नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका सभापति निशान ढुङ्गेल नेतृत्वको टोलीले आज सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उक्त सुझाव दिएको हो ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली कांग्रेस सूर्यविनायक नगरकार्यमितिका सभापति ढुङ्गेलले नगरपालिकाभित्रका आम नागरिकसँग सरोकार राख्ने बिषयलाई पूरा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको भएकाले जनरोकारका सकारात्मक काममा नेपाली कांग्रेसको निरन्तर साथ, समर्थन र सहयोग रहने बताए ।
उक्त ध्यानाकर्षण पत्रमा निर्माण सम्पन्न हुन नसकेका र अलपत्र परेका सडकको अबिलम्न निर्माण गर्नुपर्ने उपभोक्ता समिति निर्माण गर्दा बृहत जनसहभागिता गरिनुपर्ने, नगरपालिकाभित्रको सार्वजनिक जमिनको अतिक्रमण तत्काल रोकिनुपर्ने, नगरपालिकाभित्र सहज यातायातको व्यवस्था गरिनुपर्ने, प्रत्येक वडामा न्यूनतम ५ वेडको अस्पताल सञ्चालन गर्नुपर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिँदै राजनीतिक पूर्वाग्रहका आधारमा शिक्षक शिक्षिकामाथि विभेद नगर्न, विद्यमान चर्काे कर दरलाई घटाउनुपर्ने ध्यानाकर्ष पत्रमा उल्लेख छ ।
यसैगरी, जनप्रतिनिधिहरु शासन नभइ जनताका सेवक हुन् भन्ने मान्यतालाई अनुभूत हुने वातावरण सिर्जना गरिनुपर्ने र विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति गरी न्यूनतम क्षतिको नीति अबलम्बन गर्न समेत ध्यानाकर्षण गराइएको छ ।