काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।
एक भिडियो क्लिपमार्फत लामिछानेले बिहीबार आज देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् ।
‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’
उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् । सोही अनुसार उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका थिए ।
‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।’
लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताए ।