काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने भनेर निर्णय नगरेको बताएका छन् ।
आज प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएको समेत बताए ।
नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिक रहेको खाणले उल्लेख गरे ।
‘एसपीपीमा आबद्ध हुने निर्णय भएकै छैन र आबद्ध हुने सोच पनि छैन, यसमा कसैले पनि शङ्का गर्नुपर्दैन’, प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री खाणले भने ।
उनले नेपालको भूमि मित्र राष्ट्रहरूविरुद्ध प्रयोग हुन नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा सरकारले संविधानमा भएको व्यवस्था, राष्ट्रिय हित, चासो र नागरिकको इच्छालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको पनि दाबी गरे।
आजको बैठकको सुरुमै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एसपीपी सम्झौता एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिए ।
आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीका पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएकोप्रति आपत्ति जनाउँदै उपाध्यक्ष पोखरेलले एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवारी लिन तयार रहेको बताए ।