काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्को क्षेत्रमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेशनलले आज आइतवार आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्पताल, विद्यालय र बाल गृह सञ्चालनमा पुर्याएको योगदानको चर्चा गरिन् ।
कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सरकारले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका भएको उनले उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिरोजस्ता समस्याले वर्षाको समयमा ठूलो जनधनको क्षति पुर्याउने गरेको भन्दै सरकारका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो ।
वृत्तचित्रमा आँखा अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए ।
कार्यक्रममा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन एक सय तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्मान गरेकी छन् ।
कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गरिन् । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आउँदा दिनमा पनि प्रयास जारी रहने बताइन् ।
नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व. मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा झन्डै दुई हजार क्लब स्थापना भइसकेका छन् ।
क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।