काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले केही पुराना र महत्त्वाकांक्षी योजनाहरू ल्याएको छ । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर ल्याइएको नीति तथा कार्यक्रममा राप्ती उपत्यका दाङमा प्रदेशको स्थायी राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना, रामपुर(कपुरकोट सडकलाई प्रादेशिक गौरवको आयोजनाका रूपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ ।
यस्तै, नीति तथा कार्यक्रममा नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालई संघीय सरकारसँगको समन्वयमा अघि बढाउने, लगानीमैत्री वातावरण निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि पूर्वाधार निर्माण, खानेपानी र विद्युत्मा पहुँच, रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सुशासनलाई प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।