काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ । सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।
हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।
पशुपतिनाथ नखुल्ने
साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर सोमबार पनि नखुल्ने भएको हो ।
सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालयलगायतका ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।
पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो ।
यसैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको जनाएको छ । मन्दिर पुग्ने दर्शनार्थीबीच दुरी कायम गर्ने, ठाउँ ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गर्ने, भिडभाड नहोस् भन्नका लागि मन्दिर प्रवेश गर्ने र बाहिरिने छुट्टै ढोका प्रयोग गर्ने तयारी भएको छ । तर मन्दिर खुले पनि पहिलेको जस्तो लाइनमा राखेर दर्शन भने गर्न पाइने छैन ।
भक्तजनले चढाउन ल्याएको फूलमालासहितको सामग्री बाहिरै राख्नुपर्ने छ र कोषले बनाएको नियमअनुसार दर्शनार्थीले मन्दिरको दर्शन गर्नुपर्ने छ ।