काठमाडौं । पोखरा महानगरको कार्यपालिकाले आजदेखि पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् ।
५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित भएका छन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन् । ३० वैशाखको निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ ।
१ सय ६७ सदस्यमध्ये एमालेको उपमेयरसहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन । उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् ।
निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने कांग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेद्वार बनाएको छ ।
दलित तथा अल्पसंख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन । कांग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसंख्यकमा कांग्रेसले उम्मेद्वार उठाएको छैन । गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् ।