काठमाडौं । स्थानिय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार चार सय ३२ मतसहित अग्रस्थानमा छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार तीन सय ९७ मत प्राप्त गरेकी छिन् । यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार सात सय ५६ मत प्राप्त गरे।
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका बलदेव चौधरी सात सय ४४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका वसन्तकुमार बस्नेतले तीन सय ४४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा ९माओवादी केन्द्रकी गीता खड्का कार्कीले आठ सय १८ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिस्पर्धी कांग्रेसकी सरिता राईले तीन सय २० मत प्राप्त गरे।
रौतहटको गरुडा नगरपालिकको मेयरमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार आठ सय सात मतका साथ अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् ।
उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरीले पाँच हजार एक सय ४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालकी विन्दुकुमारी देवीले तीन हजार एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।
रौतहटकै फतुवा विजयपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल राय यादवले चार हजार एक सय १७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार नौ सय २२ मतका साथ पछि छन् ।
उपमेयरमा कांग्रेसकी अमवेया खातुनले चार हजार दुई सय ५१ मत र एमालेका कान्ती देवीले तीन हजार दुई सय ७० मत प्राप्त गरे । सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस एक सय ३८ नगरपालिका र एक सय ८८ अध्यक्षसहित तीन सय २७ स्थानमा निर्वाचित भएका छन्।
एमाले ८१ नगरपालिका र एक सय २३ गाउँपालिकासहित दुई सय चार स्थानमा निर्वाचित भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी एक सय २१ पालिकामा निर्वाचित भएको छ ।