संघीय राजधानीसँग जोडिएको जिल्ला भक्तपुरमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामबाट राजनीतिक रुपमा त्रिपक्षीय समीकरण देखा परेको छ । पछिल्लो मत परिणामलाई आधार मान्ने हो भने भक्तपुरमा आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदूर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ । स्थानीय तहको निर्वाचन परिणामले प्रदेश र संघीय निर्वाचनलाई समेत प्रत्यक्ष प्रभाव पार्नु स्वभाविक मान्ने गरिन्छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा देखिएको मत परिणाम २०७९ को दोश्रो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा प्रष्ट रुपमा बाँडिएको देखिन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेका ४ वटा नगरपालिका मध्ये ३ वटामा नेकपा एमालेले नेतृत्व आफ्नो पोल्टामा पार्दा मजदूर किसान पार्टीले एउटा नगरपालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएको थियो । त्यतिखेर जिल्लाको सूर्यविनायक र चाँगुनारायण नगरपालिका प्रमुख र उपप्रमुख तथा मध्यपुर थिमी नगरपालिकामा प्रमुखको नेतृत्व एमालेले आफ्नो पक्षमा पार्दा भक्तपुर नगरपालिकामा भने विगतको जस्तै नेपाल मजदूर किसान पार्टीले नै एकलौटी नेतृत्व गरेको थियो । त्यतिखेर स्थानीय तहको निर्वाचन परिणामको प्रभाव २०७४ साल मंसीरमा सम्पन्न प्रदेश र संघीय निर्वाचनमा समेत परेको थियो । त्यतिखेर स्थानीय तहमा नेकपा एमालेले जितेको तीनवटै प्रदेश सभामा एमाले नै जित हासिल गरेको थियो भने एउटा प्रदेश सभामा नेपाल मजदूर किसान पार्टीले विजय हासिल गरेको थियो । त्यसैगरी दुईवटा संघीय निर्वाचन क्षेत्र मध्ये एउटा नेकपा एमालेले त अर्काे नेपाल मजदूर किसान पार्टीले विजय हासिल गरेको थियो ।
यस्तो छ २०७४ साल र २०७९ को मत परिणाम
भक्तपुर क्षेत्र नम्बर २ को भौतिक पूर्वाधारण निर्माणमा एमालेले खेलेको भूमिकालाई तल्लो तहसम्म पुर्याउन नसक्नु, पछिल्लो स्थानीय तहको निर्वाचन परिणाम सत्ता गठबन्धन, पार्टीभित्रको आन्तरिक असन्तुष्टी र कार्यकर्ताको मनोभावनालाई समेट्न नसक्नु जस्ता बिषयहरुलाई यथोचित समीक्षा गर्न चुक्यो भने आगामी प्रदेश र संघीय निर्वाचन एमालेको निम्ति झनै कष्टकर बन्न सक्दछ ।
२०७४ र २०७९ को मतपरिणामलाई तुलना गर्दा :
भक्तपुर नगरपालिका
जिल्लाको पहिलो नगरपालिका भक्तपुरमा परम्परागत रुपमा रहेको राजनीतिक शक्ति नेपाल मजदूर किसान पार्टीले अहिले पनि आफ्नो विरासत कायमै राखेको छ । २०७४ सालको स्थानीय तहमा प्राप्त गरेको मतलाई उसले २०७९ को दोश्रो स्थानीय तहको निर्वाचनमा पनि कायमै राखेको देखिन्छ ।
मध्युपर थिमी नगरपालिका :
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस उपप्रमुख र ६ वटा वडामा विजयी भएको थियो भने अहिले पनि कांग्रेसले नगरप्रमुख र ६ वटा वडामा विजय हासिल गरेको छ । यसरी हेर्दा प्रमुख र उपप्रमुखमा गठबन्धन गर्दा कांग्रेसका लागि २०७४ को भन्दा अनुकूल परिस्थिति सिर्जना भएको छ । खासगरी विगतमा नगरप्रमुखका निम्ति एमालेले प्राप्त गरेको मत कांग्रेसले प्राप्त गरेको देखिन्छ । यस्तो परिणाम आउनुमा गठबन्धन मात्र कारक बनेको भन्न मिल्दैन । यद्यपि गठबन्धनभित्रकै दल नेकपा माओवादीले पनि उपप्रमुखमा जित सुनिश्चित गर्दा विगतमा एमालेले प्राप्त गरेको मत काट्न भने राम्रै सहयोग गरेको देखिन्छ । २०७४ सालमा एमालेले प्राप्त गरेको वडाको संख्यालाई भने अहिलेपनि कायमै राखेको देखिँदा सांगठानिक रुपमा एमाले कमजोर भने देखिँदैन । मजदूर किसान पार्टीले एउटा वडामा कायम राखेको उपस्थितिलाई यसपाली पनि निरन्तरता दिएको छ ।
चाँगुनारायण नगरपालिका :
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्रमुख तथा उपप्रमुख र ४ वटा वडामा विजय हासिल गरेका थियो । तर २०७९ को दोश्रो स्थानीय तहको निर्वाचनमा एमालेले आफूले विगतमा प्राप्त गरेको नगरप्रमुखको हैसियत गुमाउँदै अन्य दुईवटा वडामा मात्र सीमित भएको छ । बरु विगतमा कुनैपनि वडामा जित्न नसको राप्रपाले २ वटा वडामा जित सुनिश्चित गर्दा मजदूर किसान पार्टीले एउटा वडामा विजयी भएर आफ्नो विगतको विरासत कायमै राखेको देखिन्छ । २०७४ सालमा ४ वटा वडामा सीमित रहेको नेपाली कांग्रेसले पुरानो विरासत कायमै राख्दै एमालेको नेतृत्वमा रहेको नगरप्रमुख समेत आफ्नो पोल्टामा पारेको छ ।
सूर्यविनायक नगरपालिका :
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा यस नगरपालिकामा नगरप्रमुख र उपप्रमुख तथा अन्य ७ वटा वडामा एमाले विजयी भएको थियो । यो संख्या सूर्यविनायक नगरपालिकाको कार्यपालिकामा दुई तिहाइ संख्या थियो । तर पाँच बर्षपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनमा एमाले विगतमा प्राप्त गरेको अन्य २ वटा वडा पनि गुमाएर ५ वटा वडामा सीमित हुन पुगेको छ । यद्यपि नगरप्रमुख र उपप्रमुख भने नेकपा एमालेले नै जितेको छ । पछिल्लो मत परिणामलाई आधार मान्ने हो भने यस नगरपालिकामा २०७४ को तुलनामा नेपाली कांग्रेस सुदृढ र बलियो बन्दै गएको देखिन्छ भने नगरपालिकामा नेतृत्व गरेको एमाले भने कमजोर बन्दै गएको छ ।
स्थानीय तहको मत परिणामपछि जिल्लामा एमाले कमजोर बन्दै :
जिल्लामा स्थानीय तहको पछिल्लो मत परिणामले नेकपा एमालेले विगतमा प्राप्त गरेको जिल्ला समन्वय समितिको नेतृत्व स्पष्ट रुपमा गुमाउन सक्नेछ । सबै पालिकाबाट निर्वाचित जनप्रतिनिधिले उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था भएपनि जिल्ला समन्वय समितिको संरचनामा जिल्लाका ४ वटा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने कानुनी व्यवस्था छ । जसका कारण एमालेले यसपाली जिल्ला समन्वय समितिको नेतृत्व गुमाउने प्रबल सम्भावना छ । प्रमुख र उपप्रमुख सहित ९ सदस्यीय जिल्ला समन्वय समितिको गठन गर्न अहिलेको अवस्थामा मतदान प्रक्रियामा भाग लिन पाउने जम्मा ८ मत मध्ये कांग्रेससहित गठबन्धनसँग ३ मत, एमालेसँग ३ मत र मजदूर किसान पार्टीसँग २ मत विद्यमान रहेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार जिल्ला समन्वय समिति गठन गर्न एमालेसँग ५ मत सहित स्पष्ट बहुमत थियो ।
स्थानीय तहको मत परिणामपछि प्रदेश निर्वाचनमा पर्न सक्ने प्रभाव :
पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै जिल्लामा आगामी प्रदेश सभा निर्वाचनमा समेत विगतको समिकरणमा बदलाव आउन सक्ने आंकलन गर्न थालिएको छ । खासगरी ४ वटा प्रेदश सभा रहेको भक्तपुर जिल्लामा विगतमा प्रारम्भमा तीनवटा प्रदेशमा नेकपाले जितेको थियो भने एउटामा मजदूर किसान पार्टी विजयी भएको थियो । तर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)बाट निर्वाचित एमाले सांसद हरिशरण लामिछानेको निधनपश्चात भएको उपनिर्वाचनमा उक्त क्षेत्रको मत परिणाम कांग्रेसका कृष्णलाल भँडेलको पोल्टामा गएको छ । उक्त क्षेत्रमा अहिलेको स्थानीय तहको निर्वाचन परिणामले कांग्रेस नै बलियो राजनीतिक शक्तिका रुपमा देखा परेको छ ।
त्यसो त निर्वाचन क्षेत्र नम्बर १ (ख) मा विगतदेखि नै नेपाल मजदूर किसान पार्टीको बलियो उपस्थितिका कारण प्रदेश सभामा समेत उसले नै बाजी मार्ने पक्कापक्की जस्तै देखिन्छ ।
यता सूर्यविनायक नगरपालिका अन्तर्गत पर्ने भक्तपुर क्षेत्र नम्बर २ प्रदेश (क) मा विगतमा पनि एमाले नेतृत्वमा नै प्रदेश सभा सदस्य चयन भएकाले पछिल्लो मत परिणामले पनि त्यसलाई खासै तात्विक असर पार्ने भने देखिँदैन । खासगरी २०७९ सालको स्थानीय तहको निर्वाचन परिणामलाई विश्लेषण गर्दा नेपाली कांग्रेस विगतको तुलनामा बलियो हुँदै आएको देखिएतापनि नेतृत्व नै हत्याउन सक्ने हैसियतमा भने अझैपनि कांग्रेस पुग्न सकेको देखिँदैन ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) अन्तर्गत पर्ने मध्यपुर थिमीमा भने आगामी प्रदेश सभा निर्वाचन एमालेका निम्ति पनि सकसपूर्ण हुनसक्ने देखिन्छ । त्यसको एउटा मूल कारण भनेको सत्ता गठबन्धन हो भने, अर्काेतर्फ स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामलाई पनि मान्न सकिन्छ । त्यसको साथै एमाले पार्टी विभाजनको बाछिटा जिल्लाको अन्य क्षेत्रमा नदेखिएतापनि यो क्षेत्रमा स्पष्ट रुपमा देखिएको छ । यो पनि एमालेको निम्ति आगामी निर्वाचनका निम्ति बाधक बन्न सक्दछ ।
स्थानीय तहको मत परिणामपछि संघीय निर्वाचनमा पर्न सक्ने प्रभाव :
पहिलो स्थानीय तहको निर्वाचन परिणाम एमालेको पोल्टामा आएपछि त्यसको प्रत्यक्ष प्रभाव प्रदेश निर्वाचन र संघीय निर्वाचन परिणाममा स्पष्ट रुपमा परेको थियो । जसअनुसार भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेले अत्याधिक बहुमत प्राप्त गरेको थियो । त्यतिखेर एमालेको प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले स्थानीय उम्मेदवारी दिन नसक्दा त्यसको दोहोरो फाइदा एमालेलाई भएको थियो । जसका कारण दोब्बर मत अन्तरले एमाले विजयी भएको थियो । अहिलेको स्थानीय तहको मत परिणाम हेर्ने हो भने भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका निम्ति पनि ढुक्क हुने सक्ने अवस्था छैन । हुन न विगतमा एमाले नेतृत्वमा आएपछि यस क्षेत्रको विकासमा चामत्कारिक परिवर्तन भएको देखिन्छ । तर त्यसलाई राजनीतिक रुपमा लाभ लिन भने एमाले नराम्ररी चुकेको कुरा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले प्रष्ट पारेको छ । सैद्धान्तिक र सांगठानिक रुपमा एमालेले भक्तपुर क्षेत्र नम्बर २ मा महत्वपूर्ण उपलब्धी हासिल गरेको देखिन्छ । तर रणनीतिक र राजनीतिक रुपमा भने उसले त्यसको लाभ फेरि पनि लिन सक्छ वा सक्दैन भन्ने बिषयले नै एमालेका निम्ति आगामी प्रदेश र संघीय निर्वाचन परिणामलाई निर्धारण गर्ने दरिलो आधार बन्न सक्दछ । भक्तपुर क्षेत्र नम्बर २ को भौतिक पूर्वाधारण निर्माणमा एमालेले खेलेको भूमिकालाई तल्लो तहसम्म पुर्याउन नसक्नु, पछिल्लो स्थानीय तहको निर्वाचन परिणाम सत्ता गठबन्धन, पार्टीभित्रको आन्तरिक असन्तुष्टी र कार्यकर्ताको मनोभावनालाई समेट्न नसक्नु जस्ता बिषयहरुलाई यथोचित समीक्षा गर्न चुक्यो भने आगामी प्रदेश र संघीय निर्वाचन एमालेको निम्ति झनै कष्टकर बन्न सक्दछ ।
– थापा क्यापिटल दैनिकका सम्पादक हुन् ।