काठमाडौं । महिला सांसदहरूले बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद हटाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभामा नेकपा एमालेकी सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगरलगायतका सांसदहरूले यस्तो माग गरेका हुन् ।
उनीहरूले नाबालिकाहरूमाथि हुने बलात्कारलगायतका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यो व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।
सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीको विषयलाई लिएर प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आज सिंहदरबारमा छलफलको आयोजना गरेको थियो ।
त्यही छलफलमा बोल्दै एमालेकी सांसद पाण्डेले त्यो घटनाको अनुसन्धानका लागि सरकारले हदम्याद हटाउने गरी तत्काल कानुन संशोधन नगरे आफूहरूले संसदमा सङ्कल्प प्रस्ताव ल्याउने चेतावनी दिएकी छिन् ।
उनले हदम्याद लगाउने हो भने पनि पीडितले मुख खोलेको वा घटना सार्वजनिक भएको दिनबाट मात्रै हदम्याद लगाउन उपयुक्त हुने स्पष्ट पारिन् ।
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतः सिद्ध भएकाले घटनाका पीडित (ती युवती) लाई तत्काल न्याय दिन सरकारसँग माग गरिन् ।
उनले घटनाको अनुसन्धान गरेर अपराधीलाई कारबाही गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराइन् । नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगरले यौन हिंसामा परेकाहरूलाई तत्काल राहत दिने व्यवस्था पनि कानुनमै उल्लेख गर्न सरकारलाई दबाब दिइन् ।
उनले मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरू यौन हिंसाका कारण प्रताडित हुनुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राजनीतिक पार्टी र त्यसका भातृ सङ्गठनहरूले पनि पहल गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सांसद थापामगरले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि भएका कानुनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको भन्दै सरकारको आलोचनासमेत गरिन् ।