काठमाडौं । मोरङको रंगेली नगरपालिकामा बढी मतपत्र भेटिएपछि तनाव भएको छ । मतगणनका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
घाइतेको अवस्था सामान्य रहेको उनले बताए । केहीबेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको उनको भनाइ छ ।
मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । कांग्रेसका उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको थियो, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।
विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुनः निर्वाचन माग गरेको पत्र पेस गरेपछि निर्वाचन आयोगमा पठाइदिएको उनले बताए ।
रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।
रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थीतिमा भएको छलफल पछि सोमबारबाट सुरु भएको थियो ।
रंगेलीमा पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ७ हजार ३८५ मतसहित अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार घिमीरेले ५ हजार ७८ मत पाएका छन् ।