काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाको मतगणना जारी छ । मतदाता धेरै रहेका यी महानगरमा सत्ता गठबन्धनले तालमेल गरेको थियो ।
काठमाडौं महानगरपालिका बाहेकका पाँच महानगरमा गठबन्धनका उम्मेदवारले नै अग्रता कायम गरेका छन् । काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ९६७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् ।
नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत प्राप्त गरेका छन् । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१ हजार ३११ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्यले ११ हजार ९६५ मत प्राप्त गरेकी छन् । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ हजार ४२६ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २१ हजार ४९२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार २७० मत प्राप्त गरेका छन् ।
त्यहाँ स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार १३३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८६१ मत प्राप्त गरेका छन् ।
एमाले राप्रपा गठबन्धनको तर्फबाट राप्रपाका उम्मेदवार हिमला गुरूङले उपप्रमुखमा १४ हजार २८ मत प्राप्त गरेकी छन् । प्रदेश १ को मोरङस्थित विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २५ हजार ३१२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले १८ हजार ८३५ मत प्राप्त गरेका छन् ।
यहाँ उपप्रमुखमा भने गठबन्धनको उम्मेदवार भन्दा १० हजारको मतान्तरले नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अगाडी छन् । कार्कीले २२ हजार १४ मत प्राप्त गरेकी छन् भने गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३६६ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशको वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार राजेशनमान सिंहले २२ हजार ५९६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले ११ हजार ७८५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १६ हजार १३९ मत प्राप्त गरेका छन् । एमाले लोसपा तालमेलबाट उम्मेदवार बनेका लोसपाका उपप्रमुखका उम्मेदवार पुरुषोतमलाल झाले ३ हजार ३५६ मत प्राप्त गरेका छन् ।
कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २७ हजार २८४ मत प्राप्त गरेकी छन् । एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले २७ हजार ११९ मत प्राप्त गरेकी छन् ।