काठमाडौं । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।
समितिले जेठ १४ गते बेलुकी सङ्घ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवम् ब्यानर सजाएर दीपावली गर्ने र नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिने समितिका सदस्य सचिव एवम् गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए । त्यस दिन हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शनसमेत गरिने छ ।
त्यही दिन बेलुकी नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा दीपावली गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै जेठ १६ मा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलमा बेलुकी दीपावली गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै विदेशमा रहेको नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्ज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका संयोजकत्वमा सरकारका मन्त्री, संवैधानिका निकायका प्रमुख, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुखलागयत रहने गरी मूल समारोह समिति गठन गरिएको छ ।
समितिको सदस्य सचिवमा गृह सचिव पाण्डे रहेका छन् ।