काठमाडौं । स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।
विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।
त्यस्तै, उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको एमालेको आरोप छ ।
प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ ।