काठमाडौं । पालिका चुनावअन्तर्गत दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ । यस्तै रुकुम पूर्वको एक मतदान केन्द्रमा दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको छ ।
पुथाउत्तरगंगा गाउँपालिका २ को पेल्मा प्रावि मतदान केन्द्रमा दिउँसो १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ ।
बिहान ७ बजेदेखि नै मतदान सुरु हुनुपर्ने भए पनि दलीय सहमति नहुँदा मतदान सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।
यसैबीच विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । उनका अनुसार गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।
उहाँकाअनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुईंचो लागेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान भएको हो ।
मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।