काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज बिहान भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकामा पुगेर शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रबाट मतदान गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । उनले तनहुँमा आज बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको निर्वाचनमा मतदान गरेका हुन् । उनले बिहान ७ बजे व्यास नगरपालिका–२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र (ख) मतदान गरेका छन् ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले बिहान ७ बजे रुपन्देहीको तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।
यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुबिण्डेमा रहेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट उनले भोट हालेका हुन् ।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । सात पालिका तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि मतदान गरेका छन् । उनले रौतहटको गौरको रामजानकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।
यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा रहेको उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट पालिका चुनावको लागि मतदान गरेका हुन् ।