काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसको दबाबमा नपरी मत हाल्न मतदाताहरुलाई अनुरोध गरेको छ।
बिहीबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपयुक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरे।
उनले निर्वाचन आयोगबाट जारी आचारसंहितको पूर्ण पालना गर्नरगराउन, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, अशक्त र किरियापुत्रीलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न पनि अनुरोध गरे।
अध्यक्ष मगरले भने, ‘स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित, स्वतन्त्र, निष्पक्ष वातावरणमा सम्पन्न गराइ व्यक्तिका नागरिक तथा राजनीतिक अधिकारहरुको पूर्ण सम्मान र संरक्षण गर्नको लागि राष्ट्रिय मानव अधिकार आयोग सरोकारवालाहरुसँग अनुरोध गर्दछ। स्थानीय तहको निर्वाचनमा आफ्ना अधिकारको बारेमा सचेत रहँदै कसैको दबाब र प्रभावमा नपरी निर्भिकताका साथ आफ्नै उपयुक्त ठानेको सक्षम जनप्रतिनिधि छनोट गर्न पनि मतदाताहरुलाई अनुरोध गर्दछु।’
त्यस्तै आयोगका का।मु सचिव मुरारीप्रसाद खरेलले राष्ट्रिय मानव अधिकार आयोगले गरेको पूर्वअनुगमनबाट स्थानीय तहको निर्वाचनमा महिला र दलितको उम्मेदवारी अत्यन्तै न्यून रहेको पाइएको बताए।
उनले मौन अवधिको समयमा मुख्य राजनीतिक दलहरुले नै आचारसंहिता उल्लंघन गरेको पाइएको बताए।