काठमाडौं । आज पनि काठमाडौंको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटीलगायत क्षेत्रमा यात्रुको भिड थियो । गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।
त्यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिए । गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो ।
यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए । आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।