काठमाडौं । निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भोट हाल्ने तरिका सिकाउने भएको छ। आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार गरेको छ । आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउने र मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत संकेत गर्नुपर्छ ।
गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नु पर्दछ । मतपत्रमा मत सङ्केत गरे छि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ।
मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको चुनाव चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएमा पनि त्यो मत बदर हुन्छ। स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा पनि मत बदर हुन्छ ।
यस्तै, दुईवटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्नेगरी स्वस्तिक छापलगायमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुने आयोगले जनाएको छ ।