काठमाडौं । आगामी शुक्रवार हुने पालिका चुनावमा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि नै मौन अवधि तोकेको हो ।
यस समयमा चुनावसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई चुनावसम्बन्धी भेला, घरदैलो प्रचारप्रसार गर्नसमेत रोक लगाएको छ ।
यस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चारमाध्यममा पनि मौन अवधिमा कुनै पनि पार्टी र उम्मेदवारका सम्बन्धमा समाचार प्रकाशित गर्न नपाइने उल्लेख छ । सञ्चारमाध्ययमा मौन अवधि लागू भए पनि आयोगलाई भने सामाजिक सञ्जाललाई नियमन गर्न चुनौती हुने देखिन्छ ।
चुनावको बेला अन्य देशमा पनि मौन अवधिमा रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई नियमत गरे पनि सामाजिक सञ्जाललाई भने नियमन गर्न नसकेको पाइएको छ । चुनावको समयमा सञ्चारमाध्यमलाई नियमन गर्न सकिए पनि सामाजिक सञ्जाललाई भने संसारमा नै चुनौती रहेको छ ।
फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक सञ्जालबाट हुने प्रचारलाई भने मौन अवधिमा रोक्नका लागि चुनौती रहेको बताइन्छ । आयोगले मौन अवधिमा विशेष गरी सामाजिक सञ्जालमा प्रचारप्रसारलगायतका काम नगर्न उम्मेदवार र तिनका समर्थकलाई आग्रह गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल अनुगमन गर्न संयन्त्र बनाए पनि मौन अवधिमा प्रचारका काम रोक्न चुनौती रहेको बताए । आयोगले समाजिक सञ्जाललाई नियमनमा ल्याउन विशेष कमिटी बनाएर काम गरिरहेको जनाएको छ ।
त्यस कमिटीमा नेपाल प्रहरीको साइबर ब्युरोका दुई तथा नेपाली सेनाका सूचना विज्ञ रहेका छन् । ‘आयोगसँग सामाजिक सञ्जाललाई नियमन गर्न विशेष कमिटी भए पनि निकै चुनौती छ’, पौडेलले भने ।
उनका अनुसार आगोगद्वारा सामाजिक सञ्जालमा आजभन्दा अगाडि राखेको चुनावसम्बन्धी सामग्री हटाउन तथा नयाँ पनि पोस्ट नगर्न सबैलाई अनुरोध गरिएको छ । आयोगले मौन अवधिको पालना गर्न पनि सबैलाई आग्रह गरेको छ ।