काठमाडौं । पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू हुनेछ ।
मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ। चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ। यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।
दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ। मतदानस्थलको तीन सय मिटर वरपर दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन्।
मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर पनि गर्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ ।
निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने उल्लेख छ ।