काठमाडौं । वैशाख ३० गते मतदान हुने दिन सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ । पास विनाका सवारी साधन चलाउन नदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।
आयोगले काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीहरूले अनिवार्यरुपमा अनुमति लिनुपर्ने मापदण्ड तयार गरेको छ । जसअनुसार एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले भने सवारी पास लिनु पर्दैन ।
आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको आयोगका एक कर्मचारीले बताएका छन् । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ ।
अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ । यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ ।
तर, राष्ट्रसंघ तथा कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाटै अनुमति लिनुपर्ने आयोग स्रोतले बताएको छ । पत्रकारको हकमा काठमाण्डौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ ।
मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दमकल, एम्बुलेन्स, पानी, दूध बोक्ने सवारीसाधन चलाउन पाईने छ ।
यस्तै, आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न आयोगले भनेको हो ।