काठमाडौं । युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झन्डै ५० जनालाई बाहिर निकालिएको राष्ट्रसंघले जनाएको छ । रुसी रक्षा मन्त्रालयले पनि दुई पटक गरी ४६ जनालाई मरिउपोलस्थित एजोभस्टल स्टिल कारखाना परिसरबाट उद्धार गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये २५ जनाले दिउँसो र २१ जनाले साँझपख कारखाना परिसर छाडेका हुन् । त्यहाँबाट बाहिर निकालिएकामध्ये २० जना महिला तथा बालबालिका छन् ।
उद्धार गरिएकाहरूलाई रुसी सीमा क्षेत्रमा पर्ने बेजिमेन्नी लगिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गतसाता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारण थुनिएका थिए ।
युक्रेनी अधिकारीले कारखाना परिसरमा कम्तीमा एक हजार सर्वसाधारण अझै फसिरहेका जनाएका छन् । उनीहरूलाई बाहिर निस्कन दिने विषयमा वार्ता भइरहेको बीबीसीले जनाएको छ ।
त्यस्तै, कारखाना परिसरमा कम्तीमा ५ सय घाइते युक्रेनी सेना रहेका जनाइएको छ । युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा व्यक्त गरेको एएफपीले जनाएको छ ।
पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पार्दै लगेको छ । रुसी राष्ट्रपति पुटिनले एक साताअघि मरिउपोल कब्जा भएको बताउँदै त्यहाँबाट कसैलाई पनि बाहिर निस्कन नदिन आफ्नो फौजलाई निर्देशन दिएका थिए ।
मरिउपोलमा अझै कम्तीमा एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बाँचिरहेका बीबीसीले उल्लेख गरेको छ । मरिउपोलका मेयर भदिम बोइचेन्कोले रुसी आक्रमणमा परी कम्तीमा २० हजार गैरसैनिकको मृत्यु भएको जनाएका छन् ।
मारिनेहरूको संख्या अझै बढी हुन सक्ने उनको दाबी छ ।