काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुलाई आफ्ना उम्मेदवार छान्न सकस परिरहेको छ । स्थानीय तहको नेतृत्व गर्ने सवालमा आकांक्षीहरुको संख्या धेरै हुँदा दलहरुका लागि उम्मेदवार छान्ने बिषय दिनदिनै पेचिलो बन्दै गइरहेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताको मिति बैशाख ११ र १२ गतेलाई तय गरिसकेको अवस्थामा बैशाख १० भित्रै सबै दलले आफ्ना उम्मेदवारको नामावली टुङ्गो लगाइसक्नुपर्ने बाध्यकारी अवस्था रहेको छ । यो क्रममा मुलुककै ठूलो काठमाण्डौ महानगरपालिकामा पनि प्रमुखको उम्मेदवार छनौट गर्न दलहरुलाई निकै कठिन भइरहेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रमुख निर्वाचित भएका विद्यासुन्दर शाक्यले फेरि पनि पुनः सोही पदमा आफू दोहोरिने आकांक्षा व्यक्त गर्दैगर्दा नेपाली कांग्रेसकी तर्फबाट उपमेयर रहेकी हरिप्रभा खड्कीले पनि सोही पदमा उम्मेदवारी दिने आंकाक्षा व्यक्त गरेकी छिन् ।
त्यसो त नेपाली कांग्रेसका तर्फबाट कांग्रेस काठमाडौं महानगरपालिका समितिका सचिव सुसन बैद्यले समेत काठमाडौं महानगरपालिकामा मेयर पदको आकांक्षा व्यक्त गरेका छन् । स्वभाविक रुपमा वैद्य काठमाण्डौ महानगरपालिकामा मेयर पदका आकांक्षी मध्ये उमेरले युवा हुन् । तर दृष्टिकोण र अनुभवका आधारमा वैद्य परिपक्व र सशक्त उम्मेदवारका रुपमा अगाडि आएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आफ्नो जिम्मेवारी लिएर राजनीतिक यात्रा सुरु गरेका बैद्य काठमाडौं महानगरपालिकालाई व्यवस्थित, समृद्ध र काठमाडौंवासीलाई गर्व गर्न लायक शहर निर्माण गर्ने दृष्टिकोण र योजना भएका मध्य पर्दछन् ।
बैद्य भन्छन्, ‘मेरो लक्ष्य काठमाडौं महानगरपालिकाको प्रमुख बन्ने मात्र हैन, महानगरवासीका दुःखको अन्त्य गर्नु हो । महानगरका तमाम समस्याको समाधान गर्ने लक्ष्य हो । महानगरको समस्या समाधानका लागि साधनका रूपमा प्रमुखमा मेरो दावेदारी हो ।’
काठमाडौंको समस्यालाई राम्ररी बुझेका वैद्य उपत्यकाका भित्रको ट्राफिक जामले नगरमा यात्रा गर्नेहरुको निम्ति ठूलै सास्ती खेप्नु परेको बताउँछन् । उनी यहाँको सार्वजनिक सवारी यातायातलाई व्यवस्थित बनाउनु नगरप्रमुखको पनि पहिलो दायित्व सम्झिन्छन् । उनी भन्छन्, ‘जबसम्म हामीले काठमाडौं महानगरबाट निजी यातायात हटाउन सक्दैनौं, तबसम्म जामको समस्या हल गर्न सकिँदैन । सडक बढाउने ठाउँ पनि छैन, थोरै सडक बढाएर पनि दीर्घकालीन समस्या समाधान हुँदैन । यो समस्या समाधानको एकमात्र उपाय भनेकै सार्वजनिक यातायातलाई सुविधाजनक, बलियो र विश्वसनीय बनाउने हो । यस्ता समस्या समाधान गर्दा यो महानगर हैन, महानघर जस्तै बन्छ । जसरी हामी आफ्नो घर बलियो तथा सफा बनाउछौं, म काठमाडौंलाई त्यस्तै बनाउन चाहन्छु ।’
‘स्वभाविक रुपमा काठमाडौं महानगरभित्र खानेपानी, फोहोरमैला व्यवस्थापनमा पनि समस्या छ । अहिलेको अवस्था हेर्दा काठमाडौँ महानगरपालिकाले यी विषयलाई राम्रोसँग जिम्मेवारी बहन गर्न सकेको छैन ।’ बैद्य भन्छन्, ‘खानेपानीको व्यवस्था केयूकेएलले नगरी महानगरपालिकाले गर्नुपर्ने थियो तर केयुकेएलको बोर्डमा महानगरपालिका भए पनि पछिल्लो ५ वर्षमा कुनै प्रतिनिधि पठाइएन । त्यो भनेको काठमाडौँ महानगरपालिका आफ्ना नागरिकप्रति उत्तरदायी नभएको हो । महानगरको प्रतिनिधिले त केयूकेएलमा हरेक दिन कहाँ पानी वितरण भइरहेको छ, कहाँ भएन, त्यसको निगरानी गर्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन ।’
फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका संवेदनशील भइरहेको छैन । जबकि फोहोर व्यवस्थापनका लागि एउटा घरबाट मासिक ४ सयसम्म उठाइन्छ । फोहोर व्यवस्थापनका लागि वर्षैभरि चौबीसै घण्टा काम गरिरहने एउटा ‘सेल’ बनाउनुपर्छ । सिसडोलमा विरोध भएपछि मात्रै जाग्ने महानगरपालिका भयो भने फोहोर व्यवस्थापनमा सधैं समस्या आइराख्छ ।
महानगरका सडकमा पहिलो प्राथमिकता पैदलयात्रीको हुनुपर्छ । पैदलयात्रीका लागि व्यवस्थित फुटपाथको व्यवस्थापन गर्ने मेरो भिजन छ । यस्तै काठमाडौँ महानगरपालिकामा अस्पताल, स्वास्थ्य सेवाको व्यवस्थापन, सहज रूपमा कसरी स्वास्थ्य सेवा लिन सकिन्छ, त्यसको व्यवस्थापनका लागि काम गर्ने सुसनको योजना छ ।