काठमाडौं । सत्तारुढ गठबन्धनबीच महानगर र उपमहानगरमा भागबण्डाको टुंगो लागे पनि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । विराटनगर, पोखरा, भरतपुर, हेटौंडा तथा मधेसका स्थानीय कार्यकर्ताले भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् ।
पोखरामा मेयर पद नपाएपछि कांग्रेसका असन्तुष्ट पदाधिकारी र कार्यकर्ताले कांग्रेस कास्कीको पार्टी कार्यालयमा ताला लगाएका छन् । पोखरा महानगरपालिकाको मेयरको पद गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कोटामा परेको छ ।
पार्टी कार्यकताको भावनाविपरीत कांग्रेस एक्लै लड्दा पनि जितिने पोखरा महानगरको मेयर अरू पार्टीलाई दिएकोले ताला लगाइएको उनीहरुले बताएका छन् । चितवनमा पनि माओवादी केन्द्रलाई महानगरको मेयर दिने गठबन्धनको निर्णयप्रति भरतपुर कांग्रेसको असन्तुष्टि कायमै छ । मेयरमा माओवादीलाई दिएर उपमेयर कांग्रेसले लिने सहमति भएको छ ।
कांग्रेस कार्यकर्ताले यो निर्णय नमान्ने चेतावनी दिँदै आक्रोश व्यक्त गरेका छन् । कार्यकर्ताको असन्तुष्टि साम्य पार्न पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठलाई हिजो चितवन पठाएका छन् ।
विराटनगरको मेयर कांग्रेसलाई दिने निर्णय भए पनि उपमेयर जसपालाई दिने विषयमा कार्यकर्ता असन्तुष्ट छन् । मेयर र उपमेयर एक्लै चुनाव लड्ने निर्णय गरेर कांग्रेसको स्थानीय समितिले यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।
महानगर समितिले यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो ।