काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।
यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताए । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।
उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए ।
अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको उनले बताए । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उनको सुझाव छ ।