भक्तपुर । नेकपा एमालेका नेता एवं सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण थापाले आगामी कार्यकालका लागि आफू नगर प्रमुख निर्वाचित भए राज्यबाट कुनैपनि सेवा सुविधा नलिने बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाबाट मेयरका आकांक्षी समेत रहेका थापाले क्यापिटल एफएमको नियमित कार्यक्रम ‘स्थानीय तह र जनप्रतिनिधि’सँग कुराकानी गर्दै आफू सूर्यविनायक नगरपालिकाको नगरप्रमुख निर्वाचित भए नगरप्रमुखका हैसियतमा पाँच बर्षीय कार्यकालमा राज्यबाट कुनैपनि सेवा सुविधा नलिने बताएका हुन् । उनले भने, ‘यदि म सूर्यविनायक नगरपालिकाको मेयर निर्वाचित भएँ भने तपाईहरु रेकर्ड गरेर राख्नुस्, आगामी पाँच बर्षीय कार्यकालमा राज्यबाट मैले प्राप्त गर्ने कुनैपनि सेवा सुविधा लिनेछैन ।’
हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष रहँदा ५ बर्षीय कार्यकालमा राज्यबाट प्राप्त भएको सेवा सुविधावापतको १५ लाख विपन्न वर्गका छोराछोरीको शिक्षाको लागि हस्तान्तरण गरिसकेको समेत बताएका छन् । उनले नगरपालिकाबाट वडा अध्यक्षका रुपमा प्राप्त गर्ने अन्य कुनैपनि सेवा सुविधा आफूले नलिएको समेत बताए । उनले भने, ‘तपाई अहिले हेर्न जानुस् अहिलेसम्म मैले १ लिटर डिजेल वा पेट्रोल मेरो मोटरसाइल वा गाडीका लागि लिएको छैन । त्यति मात्र होइन, वडा अध्यक्षको सुविधाका लागि नगरपालिकाले उपलब्ध गराएको मोटर साइकल समेत मैले लिएको छैन ।’
पाँच बर्षीय कार्यकालमा आफ्नो वडालाई नगरपालिकाकै उत्कृष्ट वडाका रुपमा विकास गर्न सफल भएको थापाले दाबी गरे । उनले वडाको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार तथा पर्यटन प्रबद्र्धनमा समेत आफूले घोषणापत्रमा गरेको प्रतिबद्धता अनुरुप कार्य गर्न सफल भएको बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाको नेतृत्व गर्ने अवसर पाएमा नगरपालिकाको समृद्धिमा निःस्वार्थ ढंगले सेवा गर्ने थापाले बताए । उनले नगरपालिकाभित्र विद्यमान कर प्रणालीलाई बृद्धि गर्ने नभइ त्यसलाई व्यवस्थापन गर्नमा आफूले जोड दिने बताए ।