दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा आगलागी व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सुरु भएको छ ।
युएसएआइडी तयार नेपालको सहयोगमा हिमालयन इस्टिच्यूट अफ फायर एण्ड इमरजेन्सी सर्भिसेस प्रा.लि.(हाइफेस)को सहजीकरणमा आयोजित उक्त तालिम कार्यक्रममा ४ महिला सहित १५ जनाको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले संसारभर उच्च सम्मानका साथ हेरिने फायर फाइटरहरुका उत्पादनका निम्ति आयोजना गरिएको तालिमको उच्च मूल्याङ्कन गरिने बताए । उनले तालिममा सहभागीहरुले अग्नीनिवारण तथा उद्दारमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गर्दै तालिमले दक्ष जनशक्ति उत्पादनमा समेत विशेष सहयोग गर्ने बताए ।
यसैगरी, भौतिक पूर्वाधार प्रमुख तथा विपद् फोकल पर्सन ई. सुरेश राउतले नगरपालिकामा फायर ब्रिगेड व्यवस्थापन सम्बन्धी तालिम हुँदा नगरपालिकाभित्र आगलागी व्यवस्थापनलाई अझै व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुग्ने बताए ।
यस्तै, हाईफेसका अध्यक्ष सुशिल राउतले तालिममा प्राप्त जनशक्तिले आगामी दिनमा आगलागीका कुनै पनि घटनामा तत्काल उद्दार गर्न र त्यसको सही ढंगले निवारण गर्न सक्ने बताए । उनले तालिमका उपलब्धीबारे जानकारी दिँदै ५६ घण्टाको यस तालिमले फायर स्टेशनको प्रशासन व्यवस्थापनदेखि आगो निवारणका सुरक्षित उपायका बारेमा समेत सिक्न सकिने बताए ।
तालिम उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, भौतिक पूर्वाधार प्रमुख तथा विपद् फोकल पर्सन ई. सुरेश राउत, सिनियर प्रोग्रामअफिसर नारायणप्रसाद सेढाइ, यूयसएआईडी तयार नेपाल फिल्ड अफिसर थिरबहादुर थापा तथा हाईफेस अध्यक्ष सुशील राउतले तालिमको महत्वका बारेमा धारणा राखेका थिए ।
तालिममा प्रमुख प्रशिक्षकका रुपमा उमेश साखकर्मी प्रशिक्षण प्रदान गरिरहेका छन् ।