काठमाडौं । स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेमा जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ । शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।
दलिय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
हाम्रो प्राथमिकतामा युवा वर्ग हुने छ । हामी युवालाई अवसर दिन चाहन्छौं, उनले भने। स्थानीय तहको बढ्दो बेरुजु र अनियमितता अन्त्य नै आफ्नो पार्टीको मूल चुनावी नारा हुने उनले बताए ।
यसका साथै अध्यक्ष त्रिपाठीले माध्यामिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य तथा कृषिको उन्नती आजको आवश्यकता रहेको बताए । स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि हुँदा उसले निश्पक्ष ढंगले काम गर्नेमा आफूहरू विश्वस्त रहेको त्रिपाठी बताउँछन् ।
उनले आफ्नो पार्टीबाट कुनै प्रतिनिधिले जिते दलीय बन्धनमा नराख्ने बताएका छन् । यसका साथै उनले नेपाली राजनीतिमा गठबन्धनको संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गठबन्ध गरेर सरकार चलाउनु गलत छ । गठबन्धन गरेर चुनावमा जानु पनि गलत हो । त्यसले जनताको स्वस्थ म्यान्डेट आउँदैन । गठबन्धन गर्ने हो भने छुट्टाछुट्टै दल किन चाहियो । यो परिपाटी संविधान र लोकतन्त्र विपरित छ,अध्यक्ष त्रिपाठीले भने ।