काठमाडौं । मकैमा बढी देखिने गरेको फौजी किरा अरु अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ । अमेरिकी फौजी किरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकी फौजी किरा देखिन थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले बताउनुभयो ।
मकै, धान, गहुँ, काउली, कोदो, घाँसेवाली, काउली, बन्दा, तेलहनबाली, काँक्रो, बदाम, भटमास, प्याज, गोलभेंडा, आलु लगायतका बालीमासमेत अमेरिकी फौजी किराले सताउन थालेको उहाँले बताउनुभयो । मकैमा फौजी किराको प्रकोप बढेपछि किसान समस्यामा परेका छन् ।
प्रकोपकै रुपमा देखिएको किरा नियन्त्रण प्रभावकारी हुन सकेको छैन । मकैमा देखिएको फौजी किराले किसानलाई हैरान पारेको मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।
बागमती प्रदेशका १३ वटा जिल्लामध्ये काठमाण्डौ, ललितपुर, भक्तपुर र रसुवा बाहेक अरु नौ जिल्लामा फौजी किरा भेटिएको छ । गएको वर्ष ६ वटा जिल्लामा देखिएको फौजी किरा यो वर्ष नौ वटा जिल्लामा देखा परेको निर्देशनालयका बाली संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै दैलेख, सल्यान, रोल्पा, बाँके प्युठान, नवलपरासी पुर्व, चितवनलगायतका जिल्लाहरुमा पनि फौजी किराको प्रकोप देखिएको छ । २०७६ सालमा नेपालमा यो किराको प्रकोप देखिएको हो ।